जनता टाइम्स

२९ माघ २०७६, बुधबार १३:००

हरेक जिम्मेवारी पारदर्शीरुपमा सम्पादन गर्ने नवनियुक्त आइजिपी ज्ञवालीको घोषणा


काठमाडौं, माघ २९

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शीरुपमा सम्पादन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाले प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही बनाउने आफ्नो प्रमुख कार्य रहेको समेत घोषणा गर्नुभयो ।

बुधबार गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गर्दै उहाले कुनै प्रकारको आक्रमण्यता र गैह्र व्यवसायिक आचरणलाई पूर्णतः निर्मूल गर्ने प्रण पनि गर्नुभयो । गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रसाशन मातहतको उत्कृष्ट नमुना संगठनका रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आइजिपी ज्ञवालीले जस्तोसुकै चुनौतीमा पनि उच्च व्यवसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहने वाचा पनि प्रकट गर्नुभयो । उक्त समारोहमा गृहसचिव महेश्वर न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गर्नुभयो । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उहाले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देश गर्नुभयो ।

सचिव न्यौपानले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी रहेको भन्दै भन्नुभयो, ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ ।’ गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन्।