जनता टाइम्स

२९ माघ २०७६, बुधबार १३:०८

कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने


बेइजिङ, माघ २९

चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसङ्घले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिदै यस भाइरसको सङ्क्रमण रोक्न गरेका प्रयासको सराहना पनि गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गर्नुभएको छ । उहाँले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

उहाँले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रसंशा गर्नुभएको पनि समाचारमा जनाइएको छ । चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजार भन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ । चीनका विभिन्न प्रदेशमा रहेका छ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जानकारी दिएका थिए ।

नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् । उहाँले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै यो सङ्ख्याले स्थानीय नागरिकलाई प्रत्यक्ष रुपमा हेर्न सकेको छ या छैन भनेर पनि निरीक्षण भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुको सङ्ख्या बढाइने बताउनुभयो ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिनुभएको छ । उहाँले पनि चिनियाँ प्रयासहरुको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने पनि बताउनुभएको छ । ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गर्नुभएको छ । यस महामारीको नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग चीनलाई गर्ने आस्वासन उहाँले दिनुभएको समाचारमा जनाइएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राख्नुभएको छ । यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने बताउनुभएको छ । उहाँहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका लागि आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताउनुभएको समाचारमा जनाइएको छ ।

हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बुधबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरी १ हजार १०० व्यक्ति मृत्यु भईसकेको छ । भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी सङ्क्रमित भएका अधिकारीले जनाएका छन् ।