जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार ०९:१५

दोस्रो विवाह गरेका विष्णुले श्रीमतीसगै बस्न नमानेको भन्दै एसिड छयापेको खुलासा


काठमाडौं ।

राजधानीको कालोपुलमा बुधबार राति एक युवाले आफ्नै श्रीमतिमाथी एसिड प्रहार गरेका छन् । उनले माइतिबाट नआएपछि घर बाहिर बोलाएर एसिड प्रहार गरेको स्विकार गरेका छन् । काभ्रे, धुलिखेलका विष्णु भुजेलले सँगै बस्न नमानेपछि श्रीमतीलाई एसिड प्रहार गरेको स्वीकारको प्रहरीले जानकारी दिएको छ ।

उनले श्रीमती जेनी खड्कामाथि बुधबार साँझ ८ बजेतिर काठमाडौंको कालोपुल नजिक एसिड प्रहार गरेका थिए। एसिड प्रहार गरेर भुजेल काँडाघारीको भट्टी पसलमा मादक पदार्थ सेवन गरिरहेका थिए। त्यही बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। एसिड प्रहार गरेर भाग्दै गरेका उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरमा राखिएको छ। प्रारम्भिक बयानमा पारिवारिक झगडामा एसिड प्रहार गरेको विष्णुले स्वीकार गरेका छन्।

परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार विष्णुले, ‘पटक पटक घर आउनु भन्दा नमानेपछि रिसको झोकमा कालोपुल आएर कोठा बाहिर बोलाइ एसिड प्रहार गरेको’ स्वीकार गरेका छन् । जेनीको उमेर १४–१५ वर्ष हुँदा भगाएर विवाह गरेको विष्णुले प्रहरीलाई बताएका छन्। ६ वर्षअघि विवाह भएको उनीहरूका एक छोरा पनि छन्। घरमा श्रीमती भएको र आफू दोस्री श्रीमती भएको थाहा पाएपछि जेनी अलग्गै बस्दै आएको पनि विष्णुले प्रहरीलाई बताएका छन्। उनले छोरालाई आफूसँगै हुर्काउँदै आएकी थिइन्। प्रवक्ता बोगटीले भने, ‘पहिले विवाह गरेको पनि रहेछ। बहुविवाह गरेको थाहा पाएपछि उनले विष्णुलाई छोडेकी रहिछन्। उनी कालोपुल माइतिको डेरामा आएर बस्दै आएकी रहेछन्।’

बोगटीले जेनीको शरीरको २० प्रतिशत भाग जलेको जानकारी दिए। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। जेनीको अवस्थाबारे बोगटीले भने, ‘एसिडले पोलेको गम्भीर नै हुन्छ। अनुहार, छाती र दुवै हातमा एसिडले पोलेको छ।‘ विष्णुको प्रारम्भिक बयान मात्रै लिइएको र बाँकी बयान लिने काम बिहीबार हुने बोगटीले जानकारी दिए। एक मोटरसाइकल ग्यारेजमा काम गर्नेविष्णुले कहाँबाट एसिड खरिद गरेका थिए भन्ने पनि अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।