जनता टाइम्स

३ फाल्गुन २०७६, शनिबार १८:२४

संसदमा प्रधानमन्त्रीले चिनियाँ ड्रायगनको लोककथा सुनाएपछि…


काठमाडौं, फागुन ३

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा शनिवार सम्बोधनका क्रममा एउटा चिनियाँ लोककथा र एउटा गीतको स्मरण गराउनु भएको छ । उहाले काण्डैकाण्ड निस्किएको र त्यो यही सरकारले गरेजस्तो गरी प्रचार गरिएकोमा सो लोककथा सुनाउनु भएको हो ।

ललिता निवास प्रकरणलाई जोडेर प्रधानमन्त्री ओलीले चिनियाँ लोककथा सुनाउनु भयो । चीनमा रहेका एकजना युवाले हरेक दिन ड्रायगनको भक्ति गर्ने गर्थे । उनले जताततै ड्रायगन तस्बिर बनाउने, ड्रायगन कै महिमा र भक्ति गाउने देखी लिएर हरेक कुरामा ड्रायगनलाई जोड्ने गर्दथे । यो चलिरहेकै थियो, एकदिन ति युवाको भक्तिभावले प्रसन्न भएर ड्र्यागन उनी समक्ष वरदान दिन उपस्थित भयो । तर त्यसबाट उक्त युवा डराएर भागाभाग भयो ।

प्रधानमन्त्री ओलीले ललिता निवास प्रकणरलाई जोड्दै भन्नुभयो, ‘आरोपितहरू विरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्र्यागनप्रेमी युवाको जस्तै भयो । यस सन्दर्भमा म एउटा गीत सम्झन्छु देखाउनेले दाग देखायो किन रुवावासी ।’

प्रधानमन्त्री ओलीले ललिता निवास, सुन तस्करी, वाइडबडी, नेपाल ट्रस्ट्रलगायतका प्रकरणहरूको निष्पक्ष छानबिन हुने जानकारी समेत संसदमा गराउनु भयो । उहाले भन्नुभयो, ‘म स्पष्ट पार्न चाहन्छु सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही छैन र हुँदैन। आग्रह र पूर्वाग्रह बेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोबडीलगायतका विभिन्न प्रकरणहरूको निष्पक्ष छानबिन हुन्छ। म आश्वस्त पार्न चाहन्छु ।’