जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १७:१३

बिहिवारबाट बागमतीमा स्वच्छ पानी बग्ने


काठमाडौं, फागुन ६

गुहेश्वरीस्थित प्रशोधन केन्द्रबाट प्रशोधित भएको पानी विहिबारबाट बागमतीमा बगाइने भएको छ । शिवरात्रिको अघिल्लो दिनबाट बागमतिमा स्वच्छ पानी बगाउने तयारी भईरहेको हो ।

काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार प्रशोधित सफा पानी बगाउनेगरी सबै तयारी पूरा भएको जानकारी दिएको छ । प्रशोधित पानी एउटा टनेलबाट सिधै तिलगंगामा र अर्को गुहेश्वरी क्षेत्रको भागमा खसालिने छ। बिहीबारदेखि पशुपति क्षेत्रबाट गुहेश्वरीसम्मको नदीको भागमा पानीको शुद्धतामा फरकपन आउने प्राधिकरणले दावी गरेको छ ।

गुहेश्वरीमा १ करोड ६२ लाख लिटर क्षमताको दुईटा प्रशोधन केन्द्र छन् । दुबै केन्द्र सञ्चालनमा आएपछि नदीमा ३ सय ७५ लिटर प्रतिसेकेन्ड पानी बग्छ ।

काठमाडौं उपत्यकाका ढलहरू सिधै नदीमा मिसिन नदिने र प्रशोधनपछि मात्र छोड्ने भनेर प्रशोधन केन्द्र निर्माण भइरहेको हो। गुहेश्वरी प्रशोधन केन्द्रले गोकर्णदेखि तल र गौशालादेखि माथिका क्षेत्रको ढल समेट्छ । गुहेश्वरीजस्तै भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी र धोबीघाटमा पनि प्रशोधन केन्द्र बनिरहेको छ ।