जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १८:११

पूरा हुँदै सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने ओली सरकारको घोषणा : अव आठ स्थानीय तह मात्रै बाँकी


काठमाडौं, फागुन ६ । सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने सरकारको लक्ष्य लगभग पूरा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको तथ्यांकले यस्तो तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंककाके विवरणअनुसार अब आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ ।

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७४५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलिसकेका छन । राष्ट्र बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत पुस मसान्तसम्म १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । सो प्रदेशमा एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये १ सय ३५ स्थानीय तहमा बाणिज्य बैंकका शाखा खुलिसकेको छ । अब एक स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी छ ।

यस्तै वागमती प्रदेशको कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । यस प्रदेशका दुई वटा स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छ ।  सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउनेमा प्रदेश नं ५ अग्रस्थानमा रहेको छ । सो प्रदेशका कूल १०९ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा पुगेका छन । सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६ तहमा बैंकका शाखा खुलेका छन । सो प्रदेशमा दुई ओटा स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी रहेको छ ।