जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १२:५८

नेकपामा वैचारिक एकता आवश्यक छ : मुख्यमन्त्री गुरुङ


बागलुङ, जेठ २

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो औल्याउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो आवश्यकता औल्याउनु भएको हो । ‘तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्याउने छ, यस्को लागि बैचारिक एकताको खाँचो छ,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

गण्डकी इञ्चार्ज गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले गलकोट बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आजैबाट सकारात्मक कदम चाल्नुपर्ने बताउनु भयो । मुलुकमा उपलब्ध स्रोत, साधन र संस्कृतिलाई आर्थिक रुपान्तरणका लागि सदुपयोग गर्नुपर्ने बताउँदै उहाँले गरीबी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।

मुख्यमन्त्री गुरुङले कम्युनिष्टले समृद्धिका लागि ठूलो योगदान गर्न आवश्यक रहेको भन्दै आम पार्टी कार्यकर्तालाई समृद्धिका पक्षमा स्थानीयस्तरबाटै पहल गर्न निर्देशन पनि दिनुभयो । उहाँले भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालिगण्डकी करिडोर र मध्यपहाडी पुष्पलाल लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्याउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।