जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार ०९:१४

चीनबाट ल्याइएका १७५ जना मै कोरोना भाइरस नभएको पुष्टि


भक्तपुर, फागुन ७

चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन अर्थात् डाक्टरको निगरानीमा राखिएका नेपालीहरुमा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ ।

नमुना परीक्षण गरिएका सबै नेपालीमा कोरोनाको सङ्क्रमण नभएको पाइएको हो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर नमुना परीक्षणसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । क्वारेन्टाइनमा एक सय ३५ जना पुरुष र ४० जना महिला गरी एक सय ७५ जना रहेका छन् ।

यसैबीच चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएपछि सुरुमा डराएका स्थानीयमा अहिले त्रास हटेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खरिपाटी आसपासमा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै चीनबाट ल्याएकाहरुमा कोरोना सङ्क्रमण नभएको बुझाएपछि अवस्था सामान्य हुन थालेको हो ।

यस्तै पछिल्लो समयमा सिन्धुपाल्चोकको गुम्बा डाँडा, हुम्लाको सिमिकोट लगायतका ठाउँमा फैलिएको रुघाखोकीको सङ्क्रमण मौसमी ुफ्लुु भएको डाक्टरहरुले बताएका छन् । अहिले काठमाण्डौसहित देशका धेरैजसो अस्पतालमा रुघाखोकीका बिरामी बढेका भए पनि कोरोना भाइरसको सङ्क्रमण नभइ मौसमी ुफ्लुु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।