जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार ०९:३०

गोली प्रहार गरी मोष्ट वान्टेड पटेल पक्राउ


रौतहट, फागुन ७

प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेललाई मंगलबार राति प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे रौतहट प्रहरीले पक्राउ गर्न खोजेको थियो । तर, पटेलले प्रहरी टोलीमाथि पेस्तोलबाट गोली प्रहार गरे पछि जवाफी कारबाहीमा पटेलको खुट्टामा गोली लागेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताउनु भयो ।

प्रहरीको गोली लागेर पटेल घाइते भएका हुन् । प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाहीमा उनी घाइते भएका हुन् । पटेलको बायाँ खुट्टामा दुई वटा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पटेलले बोकेको एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ । जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा पटेल संलग्न रहेको प्रहरीको भनाइ छ । भूमिगत संगठनको नाममा आतंक मच्चाउँदै आएका पटेलमाथि दर्जनौं मुद्दा रहेका छन् ।