जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार १०:१६

दोलखा भीमेश्‍वरको शीलामा ‘पसिना’


दोलखा, फागुन ८

दोलखा बजारस्थित भीमेश्‍वरको शीलामा ‘पसिना’ आएको भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । बिहीबार बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्‍वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्‍न थालिएको मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

पसिना आउनेक्रम करिब ८ बजेर २० मिनेटसम्म रहेको उहाले जानकारी दिनुभयो । कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई ‘भीमेश्‍वलाई पसिना आएको’ भन्ने गरिन्छ । भीमेश्‍वर नगरपालिका–२ स्थित दोलखा बजार क्षेत्रका वडाध्यक्ष विराज श्रेष्ठका अनुसार पसिना आउन थालेपछि मन्दिर परिसरका घन्टाहरु बजाउने चलनलाई निरन्तरता दिइएको छ ।

पसिना पुछेको कपास र पछि क्षमापूजा गरिएको प्रसाद पहिले राष्ट्रप्रमुखका रुपमा राजा कहाँ पुर्‍याउने चलन थियो अहिले भने त्यो राष्ट्रपति कहाँ पुर्‍याइन्छ । पछिल्लोपटक २०७४ असोज २ गते पसिना आएको थियो ।