८ फाल्गुन २०७६, बिहीबार ००:००

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८


बेइजिङ, फागुन ८

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ । गत मङ्गलबार एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको थियो ।

बुधबारको दिन यस भाइरस सङ्क्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ११८ पुगेको समाचारमा जनाइएको छ । बिहीबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुग्नुको साथै ७४ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् । यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।