जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार १७:२८

सेकुरिटी प्रेस खरिद प्रकरण : मन्त्री बाँस्कोटाको पद गयो, जेल पुग्ने भए अडियो सार्वजनिक गर्ने एजेण्ट मिश्र


काठमाडौं, फागुन ८ । संघीय संसदको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो मिश्रमाथि कार्वाही गर्न निर्देशन दिएको हो ।

लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारबाही गर्न पत्राचार गरेको हो । ‘एउटा अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत हाम्रो चरित्र हत्या गरेकाले मिश्रलाई कारबाही गर्न निर्देशन दिएका हौं’ समितिका सदस्य सूर्य पाठकले भन्नुभयो । फेसबुकमा जथाभावी लेखेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको माग गरेका छन । उपाध्यायले समितिका सदस्यहरूकोे तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेख्नुभएको थियो ।

समितिले मिश्र र उपाध्याय दुबैलाई कारबाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ । लेखा समितिले सेकुरिटी प्रिन्टिङ प्रेस खरिद कार्य रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई लिखित निर्देशन पनि दिएको छ । कमिशन सेटिङको अडियो सार्वजनिक भएपछि समितिले आज यस्तो निर्देशन दिएको हो ।