जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार २०:४३

अख्तियार, सीआइबी, संसद र पार्टीलाई अडियो टेपको छानविन गर्न बाँस्कोटाको माग


काठमाडौं, फागुन ८

निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अडियो टेपका विषयमा सम्वन्धि निकायले छानविन गर्नुपर्ने माग राख्नु भएको छ । प्रधानमन्त्री निवासमा राजिनामा बुझाएपछि सरकारी सेवा सुविधा छाडेर बालकोट फर्कनु भएका बाँस्कोटाले शुभेच्छुकहरूमाझ सो कुरा बताउनु भएको हो ।

उहाले राजनीतिमा लागेपछि आरोपहरु लाग्ने बताउदै त्यसमा अप्ठयारो नमानी राजिनामा दिएर अनुसन्धानको पाटोलाई सहयोग गर्नुपर्ने स्पष्ट पार्नुभयो । ‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो’, बाँस्कोटाले भन्नुभयो ‘तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएको हो । यसमा पिर मान्नु पर्दैन ।’

उहाले यो विषयमा सबै निकायबाट छानविन हुनुपर्ने आफ्नो धारणा रहेको समेत स्पष्ट पार्नुभयो । ‘यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ’, उहाले भन्नुभयो, ‘मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।’