जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १०:१८

महाशिवरात्रिमा भक्तजनको गुनासो र व्यवस्थापन बुझ्न सस्कृतिमन्त्री भट्टराई पशुपतिमा


काठमाडौं, फागुन ९

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । यसैबीच, पशुपतिनाथमा भक्तजनलाई परेको अप्ठेरो र व्यवस्थापनका बारेमा बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विहानै पुग्नु भएको छ । उहाले त्यहा भईरहेको व्यवस्थापन, त्यसका चुनौति लगायतका विषयमा स्थलगत जानकारी लिनु भएको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।