जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १३:४८

पूर्वमन्त्री रघुबीर महासेठमाथि लाग्यो गम्भीर आरोप


काठमाडौं, फागुन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले पदीय दुरुपयोग गरी करोडौं असुली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वमन्त्री महासेठबिरुद्ध केही दिनअघि अख्तियारमा बदमासीको फेहरिस्तसहित उजुरी परेको हो ।

विकास निर्माणका काममा ढिलासुस्ती गरेको र कार्यसम्पादन मूल्यांकन प्रभावकारी नभएको भन्दै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाई मंसिर पहिलो साता मन्त्रिपरिषद् पुनर्गठन गरी हटाइएको थियो । महासेठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सडक विभाग, यातायात व्यवस्था विभाग र रेल विभागमा आफ्नो निजी सचिवालयमार्फत अनियमितता गरेको उजुरीमा उल्लेख छ । महासेठले श्रीमती जुली महतोमार्फत विभागीय प्रमुख र अन्य कार्यालय प्रमुखलाई सरुवा र जागिर खाइदिने डर धम्की देखाइ कानुनविपरीतका काम गर्न दबाब दिएको र नियुक्तिमा समेत असुली गरेको उजुरीमा जनाइएको छ ।

उजुरीमा गरिएको किटानीअनुसार महासेठले सडक विभागका तत्कालीन महानिर्देशक रवीन्द्र श्रेष्ठलाई हटाई केशव शर्मालाई महानिर्देशक बनाउन ठूलो आर्थिक चलखेल गर्नुभएको छ । यस्तै बलराम मिश्रलाई रेल विभागको महानिर्देशक बनाउन पनि तात्कालिन मन्त्री महासेठले दुई करोड असुल गरेको जिकिर गरिएको छ । उजुरीमा जनाइएअनुसार महासेठले मिश्रलाई ठेक्का प्रक्रियामा आफू निकटका कम्पनीले ठेक्का प्राप्त गर्ने गरी बोलपत्र मूल्यांकन तयार गर्न दबाब दिने गर्नुभएको थियो । मन्त्री महासेठकै कारण पूर्वपश्चिम रेलमार्ग खण्डको निजगढ–भरतपुर खण्डको पुनः विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रियाको फाइल रोकेर राखेको उजुरीमा जनाइएको छ । महासेठ मन्त्रीबाट पदच्युत भएपछि मात्र उक्त ठेक्का सम्झौता अघि बढेको छ ।

अख्तियारमा दिइएको उजुरीअनुसार सडक विभाग आयोजना निर्देशनालय, एडीबीको आयोजना निर्देशकमा पनि निजी स्वार्थ पूरा गर्न सरोज प्रधानलाई हटाई दिपक श्रेष्ठलाई नियुक्त गरिएको हो । दिपक केसी, अशोक तिवारीलगायत द्धितीय श्रेणीका कर्मचारीलाई जनही ८० लाख रुपैयाँ लिई प्रथम श्रेणीमा बढुवा गर्न सिफारिस गरेको र आफ्नो स्वार्थ पूरा गर्न सहयोग नगर्ने रवीन्द्र श्रेष्ठलाई महिनौसम्म जिम्मेवारीविहीन बनाई गोपाल सिग्देललाई दोहोरो जिम्मेवारी दिएको जिकिर पनि उजुरीमा गरिएको छ ।

यस्तै धरान–चतरा आयोजनामा आर्थिक चलखेल गर्न सक्ने हाकिम पठाएको, ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनसँग मिलेर ठेक्काको ‘भेरिएसन’ स्वीकृत गर्ने सर्तमा पश्चिम खण्डमा राजेश पौडेलाई प्रमुखमा नियुक्त गरिएको जनाइएको छ । उक्त आयोजनामा ३५ करोड रुपैयाँ भेरिएसन भएको थियो । धरान–चतराको पूर्वी खण्डमा महासेठ पत्नी जुलीको प्रिय पात्र ललिजन खनालसँग एक करोड रुपैयाँ असुल गरी जिम्मेवारी दिइएको सो उजुरीमा जनाइएको छ । उक्त खण्डमा पनि ठूलो भेरिएसन भएको उजुरीमा उल्लेख छ ।

डिभिजन सडक कार्यालय दाङको प्रमुखमा जितेन्द्र चौधरीलाई नियुक्त गर्न जुली महत्तो प्रयोग गरी ३० लाख रुपैयाँ असुल गरिएको, यस्तै डिभिजन सडक कार्यालय पोखराका लागि हरिकुमार पोखरेलसँग ३० लाख रुपैयाँ, दमकका लागि श्याम यादवसँग २० लाख रुपैयाँ, हेटौंडाका लागि सुमन योगेशसँग २० लाख रुपैयाँ र चरिकोटका लागि धर्मेन्द्र झासँग जुलीको प्रयोग गरी २५ लाख रुपैयाँ असुल गरिएको अख्तियारमा दिइएको उजुरीमा उल्लेख छ । यस्तै नागढुंगा सुरुङमार्गको ठेक्का पनि मन्त्री महासेठले चिनियाँ ठेकेदारसँग मिलेर आयोजना लम्ब्याएको उजुरीमा किटान गरिएको छ ।

तात्कालिन मन्त्री महासेठले गरेको भदमासी भन्दै उजुरीमा सडक विभाग, हुलाकी राजमार्ग आयोजनाको ठेक्का मिलाउन सेटिङ गरेको, यातायात व्यवस्था विभागलाई कमजोर बनाउन महानिर्देशक पटक–पटक परिवर्तन गरेको आरोप लगाइएको छ । यस्तै लाइसेन्स छपाइसम्बन्धी उपकरण खरिद गर्दा अनावश्यक कमिसन माग गरी विभागको फाइल अड्काउने काम गरेको, मन्त्रीकै कारणले हालसम्म लाइसेन्स वितरण सहज हुन नसकेको आरोप छ ।

उजुरीमा जनाइएअनुसार मन्त्री महासेठले काठमाडौंको वागमती नदीको पुल निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनले बदमासीपूर्वक पुल निर्माण गर्दा पनि निजको ठेक्का नतोड्न सडक विभागलाई दबाब दिनुभएको थियो । पप्पुसँग करोडौं रकमको बार्गेनिङ गरेको पनि उजुरीमा उल्लेख छ । अख्तियारले यस बिषयमा छानविन अघि बढाएको बताइएको छ ।