जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार १३:१६

दोलखा भीमसेनको ‘पसिना’ पुछेको ‘महाप्रसाद’ राष्ट्रपतिद्वारा ग्रहण


काठमाडौं, फागुन १०

दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि ल्याइएको महाप्रसादलाई परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदान गरिएको छ । पसिना पुछेको कपास र पूजा सामग्री उहाले ग्रहण गर्नुभएको हो ।

भीमेश्‍वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्‍याएका थिए । भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठसहितको टोलीले दिएको प्रसादलाई राष्ट्रपति भण्डारीले ग्रहण गनुृभयो ।

किस्तीमा बिछ्याइएको रातो रुमालमाथि चाँदीको भाँडोभित्र राखिएको कपास, करुवामा राखिएको जल, विभिन्न रंगका टीका र फूल राखेर गुठियार शैलेन्द्र जोशी र सुरेश श्रेष्ठले राष्ट्रपतिलाई दिनु भएको थियो । राष्ट्रपति भण्डारीले कपास हातमा लिँदै टीका लगाएपछि भन्नुभयो, ‘२०७४ सालमा ल्याइएको कपासका टुक्रा पनि अझै सुरक्षित छन ।’

विक्रम संवत् १९९० सालयता पसिना आएपछि लगातार राष्ट्रप्रमुखहरुलाई यसरी नै महाप्रसाद ल्याउने परम्परा छ । राष्ट्रपति भण्डारीले सो अवसरमा दोलखा बजारको ऐतिहासिक, साँस्कृतिक पक्ष र परम्परागत मूल्यमान्यतालाई जोगाइराख्ने सकिने उपायहरुबारे समेत जिज्ञासा जिज्ञासा राख्नु भएको थियो । फागुन ८ गते बिहीबार बिहान साढे ६ बजेदेखि दोलखा भीमसेनलाई पसिना आएको भन्दै दर्शनार्थीको भीड लागेको थियो ।