जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार १६:४५

एक्शनमा उत्रियो काठमाडौं महानगर : भत्काइयो सरकारी जग्गा कब्जा गरेर भाडामा लगाइएका टहरा


काठमाडौं, फागुन १०

सरकारी जग्गा कब्जा गरेर बसेका व्यक्तिलाई हटाएर सरकारले फिर्ता ल्याउने कार्यलाई तिव्रता दिईरहेको छ । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियान अन्तर्गत शनिबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महानगरले फिर्ता लिएको हो ।

त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको छ । महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ । वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताउनु भयो ।

सो सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि एकजना व्यक्तिले टहरा बनाएर भाडामा लगाएका थिए । स्थानीयहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ ।