जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार १८:०९

लोककल्याणकारी राज्यको अनुभुति गराउँदै ओली सरकार : दार्चुलाकी सुत्केरी महिलाको गरियो उद्धार


दार्चुला, फागुन १० । महाकाली नगरपालिका–१ की निवासी एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको स्वास्थ्य खराव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माउनुभएको हो । छ महिनामै बच्चाको जन्म दिएपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो ।

दोस्रो सन्तानका रूपमा धामीले बच्चा पाउनुभएको बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत हुनुहुन्छ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आफ्नो पदबहालीकै बेला उद्दारमा एक सेकेन्ड ढिला पनि आफूलाई स्वीकार्य नहुने भन्दै मन्त्रालय र मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

उद्दारको अभावमा दुर्गमका महिलाले अकालमा ज्यान गुमाउनु परेको पीडापछि प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याइएको हो । यस कार्यक्रमपछि कुनै पनि दुर्गम क्षेत्रका महिलाले उद्दारको अभावमा ज्यान गुमाउनु परेको छैन । सरकारले तत्कालै उद्दार हुने ब्यवस्था मिलाएको छ ।