जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार १४:४५

सञ्चार मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री खतिवडा : अलोचना गर्नाेस, तर राम्रो कामलाई नराम्रो नभनिदिनोस


काठमाडौं, फागुन ११ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गरेको कामलाई जस्ताको तस्तै जनतामाझ पुर्याउन सरकारीसहित सवै सञ्चार क्षेत्रलाई अपिल गर्नुभएको छ । सञ्चार तथा सूचना प्रीवधि मन्त्रालयको कार्यभार सम्हालेलगत्तै सम्बोधन गर्दै मन्त्री खतिवडाले सो अपिल गर्नुभएको हो ।

अर्थमन्त्री खतिवडाले आज सञ्चार मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा अर्थमन्त्री खतिवडालाई सो मन्त्रालयको समेत जिम्मेवारी तोकिएको हो । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत जिम्मेवारी तोकेपछि खतिवडा आज सो मन्त्रालय पुगेर पदबहाली गर्दै सूचना तथा प्रशारण बिभागको महानिर्देशकमा लेखनाथ शर्मालाई सरुवा गर्ने फाइल सदर गर्नुभएको छ ।

बहालीपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले सरकारी सञ्चारमाध्यमहरुले जनतासामू जस्ताको तस्तै सूचना पुर्याउने भुुमिका पूरा गर्नुपर्ने बताउनु भयो । ‘नभएको काम पुर्याउनोस भन्ने अपेक्षा सरकारले राख्दैन, सञ्चार माध्यमले भएको कामलाई जस्ताको तस्तै जनतामाझ पुर्याउने भुमिकाको अपेक्षा मात्रै सरकारले गरेको छ,’ मन्त्री खतिवडाले भन्नुभयो, ‘राम्रो कामलाई राम्रै भनिदिनोस, नराम्रो कामलाई नराम्रै भनिदिनोस, त्यस्ले सरकारलाई काममा अझै गति दिन बल पुग्छ तर राम्रो कामलाई नराम्रो चाँहि नभनिदिनोस ।’

उहाँले सरकारी सञ्चारमाध्यमहरु एउटा मन्त्रीको पेवा जस्तो नबन्न पनि सुझाव दिनुभयो । ‘सरकारी सञ्चार माध्यम एउटा मन्त्रीको जस्तै बन्नु हुन्न, यस्ले आम जनताको कुरा सरकारसम्म ल्याउने र सरकारले गरेको राम्रा काम जनतासम्म पुर्याउने भुमिका निर्वाह गर्नुपर्छ,’ मन्त्री खतिवडाको भनाई थियो । उहाँले आफू रहँदासम्म कानून निर्माणदेखि अन्य सुधारको क्षेत्रमा सवै सरोकारवाला पक्षको राय सुझाव लिएर अघि बढने प्रतिवद्धता पनि जनाउनु भयो ।