जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार १५:१७

प्रधानमन्त्री ओलीको घोषणा : तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौं


पाँचथर, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको जानकारी दिनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको जानकारी दिनुभयो ।

आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताउनुभयो । ‘हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउनुभयो । ‘विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ, यिनै कुरामा हाम्रो ध्यान गएको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले यासोकका महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको भन्दै सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । ‘उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन, तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उहाँको ६९औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो । उहाँले आफ्नो उपचारमा सहयोग गर्ने डा रमेशसिंह भण्डारी, डा दिलीप शर्मालगायतलाई पनि धन्यवाद ज्ञापन गर्दै सहभागीमाझ परिचय गराउनुभएको थियो ।