जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार १६:५९

देश विकासको तीब्र गतिमा रहेको गृहमन्त्री थापाको ठोकुवा, यस्तो छ मुख्य आधार


हेटौंडा, फागुन ११ । गृहमन्त्री रामबहादुर थापाले सीमा समस्या समाधानका लागि सरकारले पहलकदमी थालिसकेको जानकारी दिनुभएको छ । हेटौंडामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले भारतसँग सीमा जोडिएको कालापानी क्षेत्रको सन्दर्भमा भारतले प्रकाशित गरेको नक्साबारे सरकारले कुटनीतिक ढंगले समस्या सामाधान गर्ने प्रष्ट पार्नुभयो ।

‘छिट्टै नै भारतसँग उच्च तहमा वार्ता गरेर समस्या समाधानको तयारीमा सरकार लागेको छ,’ गृहमन्त्री थापाले भन्नुभयो । उहाँले अन्तराष्ट्रिय तथ्यांकले नेपालको सुरक्षा स्थिति पहिलेको भन्दा सुधार भएको देखाएको तथ्य पनि राख्नुभयो । उहाँले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने जानकारी दिनुभयो । ‘सुरक्षा प्रेससँग जोडिएको प्रकरणमा सञ्चारमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ । यो प्रकरणको सरकारले छनविन गरेर समाधान गर्छ,’ गृहमन्त्री थापाले भन्नुभयो ।

यस्तै अमेरिका सहयोग एससीसीबारे नेकपाले निर्माण गरेको कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिइने गृहमन्त्री थापाले बताउनु भयो । ‘भर्खरै कार्यदलले प्रतिवेदन दिएको छ, सोही आधारमा यसलाई टुङ्गो लगाउने सोचेका छौं,’ गृहमन्त्रीको भनाई थियो । गृहमन्त्री थापाले बर्तमान सरकारले निकै राम्रो काम गरेको फेहरिष्ट पनि राख्नुभयो । समृद्धि र विकासका लागि सरकारले धेरै राम्रा काम थालेको बताउँदै उहाँले गत वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि भएकाले देश विकासको तीब्र गतिमा रहेको ठोकुवा गर्नुभयो ।

‘७ प्रतिशत भन्दामाथि आर्थिक विकास भएको देश संसारमा कमै मात्र रहेको छ, यो वर्षलाई विकासको प्रारम्भ वर्ष मानेका छौं, ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य लिइएको छ,’ गृहमन्त्री थापाले भन्नुभयो । उहाँले वर्तमान सरकारको २ वर्षको आर्थिक समीक्षा गर्दा पहिलेको भन्दा आयात घटेको र निर्यात बढेको बताउनु भयो ।