जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १३:२१

यसरी बनेको थियो जन्मघर इवा तीनसल्लेमै प्रधानमन्त्री ओलीको जन्मदिन मनाउने योजना


काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्लेमा जन्मदिन मनाउने योजना अघिल्लो बर्षकै थियो । प्रधानमन्त्री ओलीले आफ्नो जन्मघरबारे चासो लिएर खरिद गरेपछि पत्नी राधिका शाक्यले गत बर्ष नै इवा तीनसल्लेमा जन्मदिन मनाउने योजना बनाउनु भएको थियो । तर ब्यस्थताले गत बर्ष संभव भएन । गत बर्ष नै अर्काे बर्ष जन्मघरमा जन्मदिन मनाउने र स्थानीयबासीसँग भेटने योजना बनाइयो ।

‘पोहोर साल नै इवा तीनसल्लेमा जन्मदिन मनाउने कुरा भएको थियो, त्यसबेला समय नै मिलने, यो पाली चाँहि जन्मघरमै मनाउनु पर्छ भन्ने लाग्यो,’ प्रधानमन्त्री पत्नी राधिका शाक्यले भन्नुभयो । उहाँका अनुसार तेह्रथुमबासीको ठेला चाहना रहेको कारण जन्मथलोमा यसपटक जन्मदिन मनाउने योजना बनेको थियो । त्यही योजनाअनुसार फागुन ११ गते प्रधानमन्त्री ओली आफ्ना पिताजी र पत्नी राधिकासहित तेह्रथुमको इवा तीनसल्लेस्थित आफ्नो जन्मघरमा पुगेर ६९औं जन्मदिन मनाउनु भएको हो । पाँचथरमा खानेपानी आयोजनाको उदघाटन गरेर प्रधानमन्त्री ओली तेह्रथुमस्थित जन्मघर पुगेर त्यहाँका स्थानीयबासीबीच जन्मदिन मनाउनु भयो । जुनघरमा उहाँ ६९ बर्षअघि जन्मनुभएको थियो ।

यस्तो छ प्रधानमन्त्री ओलीको जन्मघर

ढुंङ्गामाटोले बनेको एउटा पुरानो घर । जसले झन्डै सय वर्षअघिको नेपालको पूर्वी भागमा निर्मित ग्रामीण घरहरूको प्रतिनिधित्व गर्छ । दुईतले घर, जमिनको सतहभन्दा अलि माथिसम्म रातो माटोले पोतिएको छ । एउटा मूल ढोका छ । झ्यालहरू छैनन । मूलढोकाको छेउमा एउटा सानो पिरामिड आकारको प्वाल छ । सायद त्यो त्यतिबेलाको झ्याल राख्ने शैली हुनुपर्छ । बाँकी बाहिरी भाग सेतो चुनले पोतिएको छ । माथिल्लो तलामा पनि उसैगरी ढोका राखिएको छ । सरासेप्टीहरूमा बान्की नमिलेका काठपात प्रयोग गरिएका छन । चुम्बीमा सानो झ्याल छ । त्यो झ्यालमा भने अलिकति नीलो इनामेल पोतिएको देखिन्छ । खरले छाइएको घरको तल्लोपट्टि छाल्की तानिएको छ । त्यो छाल्कीमा ढिकीको अवशेष बाँकी नै छ । घर अगाडि सानो आँगन छ । आँगनको छेउछाउ कलमी नगरेर सुरिलो भएका केही थान गुलावका बोटहरू छन ।

यो घर अत्यन्तै सामान्य छ । त्यही भएर त विशेष छ । किनकि यही घरमा प्रधानमन्त्री तथा देशकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विक्रम संवत २००८ फागुन ११ गते जन्म भएको थियो । त्यहाँको ढुङ्गा, माटो, हावापानी, वनस्पति र कीटपतिङ्गरमा समेत ओलीको बाल्यकालका पदचापहरू आलै भेटिन्छन । दशकौं गुमनाम यो घर केही वर्षयता चर्चामा छ । ओली अहिले नेपालकै सबैभन्दा ठूलो दलको अध्यक्ष तथा आधुनिक इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओलीको थातथलोका बारेमा चर्चा हुने नै भयो ।

जन्मघरप्रति पछिल्ला दिनहरूमा स्वयम प्रधानमन्त्रीकै चासो रहिआएको छ । आफ्नो जन्मथलो कसलाई प्रिय लाग्दैन होला र ! घर–जग्गा बेची नीलो तमोरको जङ्घार तरेर झापा झरेको पाँच दशकपछि प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरबारे सोधिखोजी गर्नुभयो । सम्पर्क सूत्रका रूपमा आठराईका पुराना वामपन्थी नेता भीम घिमिरे भेटिनुभयो । ओली परिवारले तुलसी सङ्ग्रौलालाई बेचेर छोडेको त्यो घर–जग्गा त्यतिखेरसम्म सङ्ग्रौलाले पनि खगेन्द्र तामाङलाई बेचिसक्नुभएको रहेछ ।

यदि बेच्ने रहेछन भने प्रधानमन्त्री ओलीले आफ्नो पुर्खाको नासो किनेर यसै क्षेत्रका जनताका हितमा लगाउने मनसाय व्यक्त गर्नुभएको छ भन्ने सन्देश बोकेर घिमिरे पछिल्ला जग्गाधनी तामाङकहाँ पुग्नुभयो । तामाङ प्रधानमन्त्री ओलीको पुख्र्यौली घर–जग्गा दिन मञ्जुर हुनुभयो । दस लाखमा दामकाम गरियो । प्रधानमन्त्री ओलीले थप ५० हजार थपिदिनुभयो । यसरी उकासियो प्रधानमन्त्रीको जन्मघर, जहाँ दुई सय रोपनी जग्गा छ । केपी शर्मा ओली ट्रस्ट नेपालले स्थानीयकै इच्छाअनुसार प्राविधिक शिक्षालय वा कृषि तालिम केन्द्र बनाउने तयारी गरिरहेको छ ।

अहिले यो घरको हेरचाह, लिपपोत छिमेकी गाउँ अर्चलेकी विष्णु भुसालले गर्दै आउनुभएको छ । धान, मकैको खेती पनि लगाउनुहुन्छ । चार वर्षदेखि प्रधानमन्त्री ओलीको जन्मघर हेरचाह गर्दै आउनुभएकी भुसालका अनुसार पछिल्लो एक वर्षमा घर अवलोकन गर्न आउनेहरू ह्वात्तै बढेका छन ।