जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १५:४८

बीमाको नियामक निकायलाई सशक्त बनाउन सुझाव


काठमाडौं, फागुन १२

बीमा व्यवसायको नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बीमा विषयका जानकारहरुले बीमा व्यवसायको नियामक निकायलाई स्वायत्त र सबल बनाउन सके बीमितको हक सुनिश्चित गर्न सहज हुने सुझाव दिनुभएको हो ।

समितिले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल अघि आज सो विषयका विज्ञसँग छलफल गरी रायसुझाव लिएको हो । बैठकमा विज्ञहरु डा फत्तबहादुर केसी, वीरेन्द्र बैधवार, वीरकृष्ण महर्जन, सुरेन्द्रमान प्रधान लगायतले बीमितहरुलाई बीमा साक्षारता बढाउने, बीमितका हितमा सेवासुविधा सहज बनाउनुपर्ने, बीमाका अन्तर्राष्ट्रिय सिद्धान्त आदि विषयमा सुझाव दिनुभएको थियो ।

समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रप्रसाद पाण्डे लगायतले अब बन्ने कानूनमा नियामक निकायलाई सूक्ष्म नियन्त्रणभन्दा उत्तरदायी र पारदर्शी बनाई बीमितले सहज रुपमा क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । विधेयकमा बीमा व्यवसायको नियमनकारी निकायका रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गर्ने व्यवस्था गरिएको छ । समितिले अर्थमन्त्रीलाई बैठकमा बोलाई विधयेक ल्याउनुपर्ने औचित्यका बारेमा प्रस्ट पारिसकेपछि विधेकमाथिको दफावार छलफल अघि बढाउने जनाएको छ ।