जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १८:१५

बिरोध गर्ने बिषय केही नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्दै हिँडेका छन : प्रधानमन्त्री


पोखरा, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास अहिलेको मुख्य एजेन्डा भएको बताउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा गण्डकी प्रदेशद्वारा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले समृद्ध नेपालका लागि सुशासन र विकासलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको बताउनुभयो । राष्ट्रिय आकांक्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोेण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्ने उच्च सामथ्र्यका साथै इच्छाशक्तिसमेत वर्तमान सरकारमा रहेको बताउनुभयो । पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पार्नुभयो ।

‘सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।’ अहिले माक्र्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले माक्र्सवादले मानवीय आकांक्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताउनुभयो । अहिले समाजवादतर्फ जाने आधार तय भएको उल्लेख गर्दै उहाँले ‘कम्प्रिहेन्सिव डेमोक्रेसी’मार्फत मानवअधिकारका विविध आयामलाई समेटेको बताउनुभयो ।

‘माक्र्सवाद विषयवस्तुको ग्रन्थ होइन। समाजवाद हो । यसले सामाजिक न्याय र समाजवादमा जोड दिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको पनि जानकारी गराउनु भयो । ‘अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संसदमा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउनेहरु योजनावद्ध रुपमा सक्रियता बढाइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘हामी महान उद्देश्यका साथ अगाडि बढेका छौं, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताले महसुस गर्न काम गरेका छौं, सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार हो ।’