जनता टाइम्स

१३ फाल्गुन २०७६, मंगलवार ०९:२३

सन्तानका लागि आमाको संघर्ष : ओढारमा दशवटा भैंसी पालें, दुई छोरालाई मास्टर डिग्री पढाएँ


बैतडी, फागुन १३ । बैतडीको पाटन नगरपालिका–७, कैलपाल निवासी केटरी बोहरा आफू निरक्षर हुनुहुन्छ, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुभएको छ ।

केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ बेचेर छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मार्मिक रहेको छ । निरक्षर केटरी बोहराको सानैमा विवाह भयो । श्रीमान रोजगारीका लागि देश विदेश भौतारिनुभयो । त्यो बेलाको दुःख सुनाउँदै केटरीले भन्नुहुन्छ– ‘घरमा चिठ्ठी लेखिदिने मान्छेसम्म कोही थिएनन् । श्रीमानलाई घरको दुःख र मनको बह पोख्न अक्षर लेखिदिने मान्छे खोज्नु पर्दा कम्ती दुःख थिएन । चिठ्ठी लेख्ने मान्छे नपाएर रोजगारीमा जाने गाउँ अन्य मान्छेसित मौखिक खबर पठाउँथे ।’

गाउँको सामान्य गरिब परिवारमा हुर्कनु भएकी केटरी बोहराले अक्षरको महत्व बुझ्नुभयो । आफु निरक्षर भए पनि छोराहरुलाई जसरी पनि स्कुल पढाउने सपनाले बोहरालाई कैलपालको एउटा ओढारमा पुर्याई दियो । दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुन्नुभयो । सपनाको गाँठो फुकाउँदै केटरीले भन्नुभयो, ‘ओढारमा १० वटा भैंसी पाले । त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना साकार भएको छ । छोरो अहिले शिक्षक बनेको छ ।’

उनै केटरी बोहराले घिउ बेचेर पढाएको जेठोछोरा हरिश बोहरा अहिले मास्टर डिग्री गरेर गाउँकै उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्छ । आमाको मेहनतले आफू अहिले एक कुशल शिक्षक बन्न पाउँदा भाग्यमानी ठानेको उहाँका छोरा शेरसिंंह बोहरा बताउनुहुन्छ । ‘म भन्दा कान्छो भाइ खड्कसिंह बोहराले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा मास्टरडिग्री सकेर घर आएको छ । मैले नेपालीमा मास्टरडिग्री गरे, भाइले अंग्रेजी विषयमा पढाई पूरा गरेको छ,’ शेरसिंह बोहराले भन्नुभयो ।

केटरी बोहराका दुई छोरा र दुई छोरी छन् । छोरीहरुलाई पनि कक्षा ८ सम्म पढाएर पराईघर दिएको पनि एक दशक भईसकेको केटरी बोहरा बताउनुहुन्छ । त्यो बेला छोरीहरुलाई चाँडै विवाह गरेर दिने चलन थियो । कक्षा ८ मा पढ्दा पढ्दै छोरी लक्ष्मीको विवाह भयो । आमाले दुःख गरेर भैंसी पाल्ने ओढारमा जन्मनु भएका शेरसिंह बोहरा अहिले शिक्षाको ज्योति फैलाईरहनु भएको छ । केटरीको गाउँमा अहिले मास्टरडिग्री गरेका मात्र होईनन्, थुप्रै डाक्टर, ईन्जिनियर छन् । त्यो बेला केटरी बोहरा श्रीमानलाई चिठ्ठी लेख्न गाउँ भौतारिनु पर्दथ्यो ।

केटरी बोहरा गाउँका धेरै मेहनती आमा मध्ये एक उदाहरणी आमा रहेको भतिजा कलम बोहरा बताउनुहुन्छ । कमल बोहरा भन्नुहुन्छ, ‘काकीले अहिलेसम्म त्यो ओढार छोड्नु भएको छैन । अब त आरामा गर्नुस् भन्दा त्यो ओढार सफलताको सिंढी हो भन्नुहुन्छ । अहिले पनि ओढारमा चार वटा भैंसी पालेर भकारो सोहर्नुहुन्छ ।’ निरक्षर काकीको जोश जाँगरले घर परिवार र छिमेकीका सबैले पढाईको महत्व बुझेको कमल बोहरा बताउनुहुन्छ । राजनीतिमा सक्रिय कमल बोहरा युवा उद्यमी पनि हुनुहुन्छ ।

बोहरा भन्नुहुन्छ ‘काकीको जेठो छोरा शेरसिंह गाउँको मास्टर हुनुहुन्छ । मेरो आफ्न्र कान्छो भाइ ईन्जिनियर छ । काकी हाम्रो पनि शिक्षाको प्रेरणाको स्रोत हुनुहुन्छ ।’ ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाउनुहुने मेहनती आमाको कथामा भएका स्थानीय रैथाने जातका भैंसी भने अहिले लोप हुने अवस्थामा पुगेका छन् ।