जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १०:२०

नयाँ पार्टी खोल्दै पूर्वडीआइजी रमेश खरेल, ज्ञानेन्द्र शाही पनि सहभागी


काठमाडौं, फागुन १४

नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ । तत्काल अभियानका रुपमा अगाडी बढाएर केही समयपछि दल खोल्‍ने तयारी गर्नुभएको हो ।

पार्टी स्थापनाको उद्देश्यले उहाले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नुभएको छ । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले जानकारी दिनुभयो । उहाले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताउनु भयो ।

सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले सुनाउनु भयो । २०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले आफुलाई नबनाएको भन्दै पदबाट राजीनामा दिनु भएको थियो ।

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध रहेका छन् । अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् ।