जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १६:०६

अडियो छानबिन गर्न माग


काठमाडौं, फागुन १४

सांसदहरुले तात्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो छानविन गरी यथार्थ बाहिर ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसँग माग गर्नुभएको हो । सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिनुभयो ।

सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराउनुभयो । सांसद महेश्वरजङ्ग गहतराज र मायादेवी न्यौपानेले सरकार र सदनबीच थप सहकार्यको आवश्यकता औँल्याउनुभयो । सांसद मीनबहादुर विश्वकर्माले दलित समुदायले दलित भएकै कारण राजधानिमा कोठा पाउन समस्या रहेको बताउनुभयो । सांसद मीना सुब्बाले रु ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको प्रश्न गर्नुभयो ।

सांसद मीना पाण्डेले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन ढिलाइ भएकोमा ध्यानाकर्षण गराउनुभयो । सांसद मोहन बानियाँले सरकारले अघि सारेको भ्रष्टाचार अन्त्यको अभियानलाई पूरा गर्ने बताउनुभयो । सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।