जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार २१:०५

प्रधानमन्त्री ओलीको निश्कर्ष : गोकुल बाँस्कोटालाई फसाइयो, जनता खुसी भएको देखेर पत्रकार धुरुधुरु रोए


काठमाडौं, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको ठोकुवा गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा बोल्दै प्रधानमन्त्री ओलीले सो निश्कर्ष राख्नुभएको हो । प्रधानमन्त्री ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको भन्दै बाँस्कोटालाई फसाइएको बताउनु भयो ।

बाँस्कोटाले पनि त्यसमा आफ्नो संलग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै प्रधानमन्त्री ओलीले फसाइएको बताउनु भयो । नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा राजिनामा दिएर राम्रो काम गरेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘मेरो नाममा पनि उजुरी परेको सुनेको छु, कत्रो उजुरी परेको छ ? त्यो उजुरीको कुनै काम छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

जनता खुसी भएको देखेर पत्रकार धुरुधुरु रोए

प्रधानमन्त्री ओलीले आफु जन्मदिन मनाउन तेह्रथुम पुग्दा जनता निकै खुसी भएको तर पत्रकार भने निकै दुःखी भएको बताउनु भएको छ । पुस्तौंदेखि काकाकुल बनेको पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनतामा निकै खुसयाली छाएको तथ्य राख्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए ।’

ती गाउँमा ३ हजार ३ सय ४३ घर परिवारलाई खान पुग्ने खानेपानी आयोजनाको शिलान्यास गरिएका कारण त्यहाँका जनता खुशी भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो, त्यो केक खाएको पत्रकारले देखिसहेनन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।