जनता टाइम्स

१६ फाल्गुन २०७६, शुक्रबार १८:०५

सुदूरपश्चिमको विकासमा राष्ट्रपतिले दिनुभयो यस्तो सन्देश


भिमदत्तनगर, फागुन १६

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग, होटल, घरवास, सडक तथा सञ्चार सेवाको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा आज आयोजित विशेष समारोहमा सम्बोधन गर्दै उहाँले सुक्खा बन्दरगाह, महाकाली नदीमा आधुनिक पुल र विभिन्न भौतिक पूर्वाधार निर्माणमा सम्बद्ध पक्षको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढी विमानस्थल क्षेत्रीय तथा अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गरी मुलुकको अर्थतन्त्र सुदृढीकरण गर्न पनि ध्यान जानुपर्नेछ ।”

पश्चिम सेती, पञ्चेश्वर परियोजना, कैलाश मानसरोवर पहुँच मार्ग सम्पन्न गर्न सम्बन्धित निकाय अग्रसर हुने अपेक्षा गर्दै उहाँले कृषि क्षेत्रको विकास गर्न सके सुदूरपश्चिममा रोजगारीको ठूलो सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले देशमा ठूलो घाँसेमैदान भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गराउने सम्भावना रहेकाले त्यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सम्बन्धित निकाय अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

“सुदूरपश्चिमका राना थारू समुदायको मौलिक पहिचान हाम्रो समाजको भएकाले संरक्षण र संवद्र्धन गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग, होटल, घरवास, सडक तथा सञ्चार सेवाको सुदृढीकरणमा ध्यान दिनुपर्छ ।”

समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटनको विकासका लागि प्रदेश सरकार नीति बनाएर अघि बढेको उल्लेख गर्दै पर्यटकीयस्थलको पहिचान र प्रचारप्रसार तथा स्थानीय उत्पादनलाई पर्यटनसित जोडेर प्रवद्र्धन गरिने जानकारी गराउनुभयो । “सुक्खा बन्दरगाह र यहाँ बन्द रहेको मझगाउँ विमानस्थल छिट्टै सञ्चालन हुनुपर्छ”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “प्रदेश सरकारले जनस्तरसम्म सेवा प्रवाह गर्न स्थानीय तहलाई समन्वय गरेर अघि बढिरहेको छ ।” समारोहमा नगरप्रमुख सुरेन्द्र विष्टले राष्ट्रपतिलाई नगरवासीका तर्फबाट सम्मान गर्नुभएको थियो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले आज बिहान अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गर्नुभएको हो । उहाँले करीब ४५ मिनेट उग्रतारा मन्दिरमा पूजापाठ गर्नुभयो । सो अवसरमा उग्रतारा वेदविद्याश्रममा अध्ययनरत वटुकले स्वस्तिवाचन गरेका थिए । मन्दिरमा राष्ट्रपति भण्डारी पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो ।

राष्ट्रपतिको स्वागतमा सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा तथा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारा क्षेत्र विकास समितिका पदाधिकारी, पूर्वपदाधिकारी पनि पुग्नुभएको थियो । सो अवसरमा अमरगढी नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरेको थियो । उग्रतारा क्षेत्र विकास समितिले पनि राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दनपत्र प्रदान गरेको छ ।

‘सुदूरपश्चिम दाहिने आँखा’

राष्ट्रपति भण्डारीले नागरिक अभिनन्दनको प्र्रत्युत्तर दिँदै सुदूरपश्चिम प्रदेश साँस्कृतिक, प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण भएको बताउनुभयो । “यहाँ प्राकृतिक सम्पदा र पुण्य धामहरू रहेका छन् । यहाँका राष्ट्रको ध्यान पुगेन कि भन्ने सोचाइहरू पनि छन् । तर त्यसो होइन । राष्ट्रको दाहिने हात, दाहिने आँखा सुदूरपश्चिम हो । त्यसैले यहाँ राष्ट्रको ध्यान आकर्षित भएको छ ।”

सरकारले सबै ठाउँका जनतालाई समान ढङ्गले हेरिरहेको बताउँदै उहाँले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकासका लागि पनि लागिपरेको छ भन्नुभयो । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा पहिलो पटक उग्रताराको दर्शन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले उग्रताराको राष्ट्रियस्तरमा प्रसारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो ।