चितवन, फागुन १७
नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जनताबाट पराजित भएका व्यक्तिलाई सांसद वा मन्त्री बनाउन खोज्नु गलत भएको बताउनु भएको छ । पछिल्लो समय सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिने निर्णयको उहाले विरोध गर्नुभएको हो ।
भरतपुर विमानस्थलमा आज विहान संचारकर्मीसँग कुरा गर्दै उहाले जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै यसले लोकतन्त्र बलियो हुन नदिने जिकिर गर्नुभयो । निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताका रुपमा हेरिनु भएको पाण्डेको पछिल्लो भनाईले नेकपामा पुनः नयाँ समिकरण बनेको आभास हुन थालेको छ । संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ । पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान हुने क्रममा अघि बढेको नेता पाण्डेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्