जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १६:४३

मेघ गर्जनसहित क्षणिक वर्षा हुने


काठमाडौं, जेठ २

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उहाँको भनाइ थियो । राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ । त्यस्तै शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा समेत मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८.५ डिग्री सेल्सियस रहने छ । यसैगरी नेपालगञ्जको अधिक मत तापक्रम ४०.५ डिग्री सेल्सियस रहने जनाइएको छ ।