जनता टाइम्स

१७ फाल्गुन २०७६, शनिबार २१:४१

थारु समुदायद्वारा राष्ट्रपति भण्डारीप्रति आभार प्रकट


कञ्चनपुर, फागुन १७

राना–थारु समुदायलाई आदिवासी जनजातिको सूचीमा छुट्टै सूचीकृतका लागि अहम् भूमिमा निर्वाह गरेको भन्दै नेपाल राना–थारू समाज केन्द्रीय कार्यसमितिका सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आभार प्रकट गरेका छन् ।

कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको गेष्टहाउसमा राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिनिधिसभाका सांसद नारदमुनि राना र समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानालगायत राना–थारु समुदायका ३२ अगुवाले आभार प्रकट गरेका हुन् । राष्ट्रपति भण्डारीलाई समाजका तर्फबाट मायाको चिनोस्वरुप राना–थारू समुदायको विशेष पहिचान झल्किने शिल्पकलामा आधारित फुलवान (डल्वा) समेत प्रदान गरिएको समाजका अध्यक्ष रानाले बताउनुभयो ।

राष्ट्रपतिसँगको भेटमा आगामी राष्ट्रिय जनगणना २०७८ मा राना–थारू समुदायको गणनासँगै भाषिक जनगणना गर्न, राना–थारु आयोग गठन गर्न र अन्य आदिवासी जनजातिसरह अधिकारको मागका लागि विशेष पहल गरिदिन अनुरोध गरका छौँ । उहाँले भन्नुभयो, “राना–थारू समुदायका महत्वपूर्ण पर्वहरुमा सार्वजिक बिदाका लागि सरकारसँग पहल गरिदिन अनुरोध गरेका छौँ ।” राष्ट्रपतिले विशिष्ट पहिचान बोकेको राना–थारू समुदायले उठाएका माग सरकारसमक्ष राख्ने अश्वासन दिएको उहाँले बताउनुभयो ।