जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार ११:२६

आइजिपीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता


काठमाडौं, फागुन १९

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीसहित प्रहरीका चार उच्च अधिकारी विरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चको आदेश अनुसार आइतवार अपरान्ह आइजिपी ज्ञवालीसहित चार उच्च अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो ।

सर्वोच्च अदालत रिहा गर्न आदेश दिने, तर गेटबाटै पटकपटक पक्राउ गर्ने प्रवृत्ति बढेको भन्दै गत शुक्रवार चार प्रहरी अधिकारीविरुद्ध अवहेलना मुद्दा चलाउन दुई न्यायाधीशको संयुक्त इजलाशले आदेश गरेको थियो । सोहीअुनसार आइतबार प्रहरी महानिरीक्षक ज्ञवालीसहित सर्वोच्चले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोष राठौर, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम सुवेदी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको सर्वोच्चले जनाएको छ ।

प्रहरी अधिकारीविरुद्ध दर्ता भएको अवहेलना मुद्दाको नम्बर २०७६–एनएस ००२९ रहेको छ । अवहेलना मुद्दा दर्ता भएका चारै जनालाई सोमबार (आज) म्याद जारी गर्ने र त्यसको सात दिनभित्र उनीहरुलाई अदालत उपस्थित हुन भनिने बताइएको छ ।