जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १६:५२

हाजिर गर्दै टाप कस्दै सांसद, कोरम नपुगेर आजको बैठक पनि स्थगित


काठमाडौं, फागुन १९ । सत्तारुढ दलका सांसदहरुले संसद बैठकलाई बेवास्ता गर्न थालेपछि आज पनि कोरम नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको हो ।

नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले सभामुख सापकोटाले आजको सदन स्थगन गर्नुभएको हो । प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद पार्वता डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेको थिएन ।

प्रतिनिधिसभाको अर्काे बैठक फागुन २१ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ । सांसदहरु भत्तापचाउन हाजिर गर्दै टाप कस्न थालेपछि बिगत केही समययता कोरम नपुगेर संसद बैठक स्थगित हुने घटना दोहोरिदै आएको छ ।