काठमाडौं, फागुन १९
सर्वोच्च अदालतले कोरोना भाइरस फैलिएका देशबाट आउने उडान रोक्न आदेश दिएको छ । सर्वोच्चले चीन, जापान, दक्षिण, कोरिया, बहराइन र इरानबाट हुने डाइरेक्ट र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कोराना भाइरसलाई संक्रमण फैलन नदिन सरकारलाई जोखिमको पूर्वमूल्याङ्कन र विश्लेषण गर्न आदेश दिएको हो । सरकारले यसअघि नै ठुलो भिडभाड हुने सभा, सम्मेलन वा भोजभतेर नगर्न अपिल गरिसकेको छ ।
संक्रमण फेलिएका देश चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरान आदिबाट सोझै र ट्रान्जिट भएर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानको अवस्था र परिस्थितिको गम्भीरताको सूक्ष्म मूल्यांकन गरी आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय तथा विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनुका साथै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउन आदेश गरेको हो ।
सर्वोच्चले देशको उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत)हरूको अनिवार्य रूपमा कडाइका साथ दक्ष जनशक्ति सहितको स्वास्थ्य जाँचको प्रभावकारी उपकरणको व्यवस्था, कोरोना भाइरस (कोभिड–१९) को गम्भीर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्