जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १२:१८

छाउपडीविरुद्ध सरकारी अभियान, आठ हजार बढी गोठ नष्ट


काठमाडौं, फागुन २१

सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुुसार हालसम्म आठ हजार ६१७ छाउगोठ भत्काइएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार ३८२ र कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएको छ ।

हालसम्म सबैभन्दा धेरै अछाम जिल्लामा चार हजार ८९७ र सुर्खेतमा एक हजार ९२४ छाउगोठ भत्काइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । यस्तै बाजुरामा ५१०, डोटीमा ३४२, कैलालीमा २७३, दैलेखमा २५९, कञ्चनपुरमा १९७, बझाङमा १४०, जाजरकोटमा ३०, कालिकोटमा २०, डडेल्धुरामा २३ र सल्यानमा दुई छाउगोठ भत्काइएको छ ।

यसैगरी कर्णाली र सुदूरपश्चिमका ९६५ घरपरिवारलाई छाउपडीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । यसमा कर्णाली प्रदेशमा ४९९ र सुदूरपश्चिम प्रदेशमा ४६६ घरपरिवार रहेका छन् । सरकारले छाउगोठसम्बन्धी जनचेतना फैलाउन रु एक करोड विनियोजनसमेत गरेको थियो । यस्तै सरकारले छाउगोठ राख्ने व्यक्तिलाई सरकारले दिने सेवासुविधामा समेत रोक लगाउने निर्णय गरेको थियो ।