जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १३:१७

डेमोक्रेटिक प्राइमरीमा जो बाइडेनको फराकिलो अग्रता


वासिङ्टन, फागुन २१

डेमोक्रेटिक पार्टीको “प्राइमरी” चुनावमा पूर्व उपराष्ट्रपति जो बाइडेनले फराकिलो अग्रता बनाउनुभएको छ । अमेरिकी संचार माध्यमहरुका अनुसार राष्ट्रपतिकी आकाँक्षी सिनेटर एलिजाबेथ वारेनलाई आफ्नै गृहराज्य म्यासाचुसेट्समा बाइडेनले पराजित गर्नुभएको छ । अमेरिकी समकालीन राजनीतिमा सिनेटर बर्नी स्यान्डर्स र वारेन दुबैले समाजवादी प्रगतिशील धारको प्रतिनिधित्व गर्नुहुन्छ ।

आगामी जुलाईमा हुने डेमोक्रेटिक पार्टीको सम्मेलनका लागि म्यासाचुसेट्स राज्यबाट ९१ जना प्रतिनिधि सहभागी हुन पाउँछन् । आफ्नै गृहराज्यबाट पराजित भएसँगै वारेनको चुनावी दौड समाप्त हुने अड्कलबाजी गरिएका छन् । पूर्व उपराष्ट्रपति बाइडेनले मङ्गलबार १४ वटा राज्यमा सम्पन्न चुनावमा ८ वटामा विजयी हुनुभएको छ । डेमोक्रेटिक पार्टीको अन्तिम सम्मेलनबाट चुनिने व्यक्तिले अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्न पाउने छन् ।

अर्का प्रतिस्पर्धी स्यान्डर्सले भने तीन वटा राज्यमा मात्र विजय हासिल गर्नु भएको छ । पछिल्लो मतपरिणाम अनुसार जो बाइडेनले म्यासाचुसेट्स सहित अलाबामा, अर्कान्सा, मिनेसोटा, ओक्लाहोमा, नर्थ क्यारोलिना, टेनेसी र भर्जिनिया तथा स्यान्डर्सले भर्मन्ट, कोलोराडो र उटाहामा विजय हुनु भएको छ । सन् २०१६ मा सम्पन्न प्राइमरी चुनावमा स्यान्डर्सले हिलारी क्लिन्टनलाई मिनेसोटा र ओक्लाहोमामा परास्त गर्नु भएको थियो, तर यसपटक उहाँ यी दुबै राज्यमा पराजित हुनु भएको छ ।

तेलको धनी राज्य क्यालिफोर्निया र टेक्सासको चुनावी नतिजा आउन बाँकी छ । यी राज्यमा स्यान्डर्सको उपस्थिति बलियो रहेको मानिन्छ । मङ्गलबारको यस प्राइमरीमा कूल एक हजार ३५७ जना पार्टी प्रतिनिधिले मतदान गरेका थिए । देशका कूल पार्टी प्रतिनिधिमध्ये यो संख्या करिब एक तिहाई हो । पूर्व उपराष्ट्रपति बाइडेनलाई डेमोक्रेटिक पार्टीका वरिष्ट नेताहरुले समर्थन जनाएका छन् ।

उहाँलाई चुनावी प्रतिस्पर्धामा रहनु भएका एमी क्लोबुचार र पिट बुटिजीजले पनि समर्थन जनाउनु भएको छ । उहाँहरु दुबैले चुनावी प्रतिस्पर्धा त्याग्नु भएको छ । धेरैवटा राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसकेका कारण स्यान्डर्सको उम्मेदवारीमाथि प्रश्नचिह्न लागेको छ । तर उहाँले क्यालिफोर्नियामा आफ्ना उत्साही समर्थकलाई सम्बोधन गर्दै अमेरिकाको इतिहासमा सर्वाधिक खतरा ठानिएका ट्रम्पलाई हराउन आफू मात्र सक्षम रहेको दाबी गर्नु भयो ।

पुरानै शैली, व्यवहार र अजेन्डाका आधारमा ट्रम्पलाई हराउन सकिन्न भन्ने कुरा सबैले बुझ्नु पर्दछ–स्यान्डर्सले भन्नुभयो । अर्कोतर्फ, लस एन्जलसमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफ्नो चुनावी यात्रा निकै जीवन्त रहेको बताउनुभयो । “कुनै गल्ती नगरौं, अबको चुनावबाट डोनाल्ड ट्रम्प विदा भएरै छाड्ने छन् ।” राष्ट्रपतिको उम्मेदवार हुन चाहने मुख्य चारै जना प्रतिस्पर्धीहरु – बाइडेन, स्यान्डर्स, एलिजाबेथ वारेन र माइकल ब्लुमबर्ग – ले क्यालिफोर्नियाको चुनावी नतिजा पर्खिरहेका छन् ।

अर्बपति व्यापारी एवं न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले चुनावका लागि करोडौं डलर खर्चिनु भएको छ, तर उहाँ समोआ द्विपबाहेक कुनै पनि स्थानमा विजयी हुनु भएको छैन । चुनावी नतिजा टेलिभिजनमा हेर्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवारप्रति विगतमा झैं व्यङ्ग्यपूर्ण ट्वीटहरु गर्नु भएको थियो । यसको प्रत्यूत्तरमा बाइडेनले “नोभेम्बरमा भेटौंला, हामी तपाइँलाई अवश्य हराउनेछौं” भन्दै ट्वीट गर्नुभएको थियो ।