जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार ०७:४६

मदन–आश्रित स्मृति दिवस, विविध कार्यक्रम गरेर सम्झँदै, नेकपा पोलिटब्यूरो र केस कार्यविभाजन आइतबार


काठमाडौं ३ जेठ । आज जेठ ३  अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । यसैबीच नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता भने टुङ्गाएको छ ।

मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ । गत वर्ष जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो ।

नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।