जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार १३:३८

भ्रमण वर्ष : ७ प्रदेशका संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा


बुटवल, फागुन २२

कोरोना भाइरसको संक्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम सञ्चालनका सन्दर्भमा छलफलका लागि भ्रमण वर्षका केन्द्रीय कार्यक्रम संयोजक सुरज वैद्य, सातै प्रदेशका संयोजक र सचिवालय सदस्य सहितको बैठक लुम्बिनीमा आज बसेको छ । बैठकमा कोरोनाको संक्रमणको कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसलाई कसरी सामान्य बनाउने र आगामी कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक माधव नेपालले जानकारी दिनुभयो ।

भ्रमण वर्षका कार्यक्रम संयोजक तथा वरिष्ठ उद्योगपति सुरज वैद्यले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिएको बताउनुभयो । भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहने भएकाले यो कुनै एउटा वर्षमा मात्र हुने नभई हरेक वर्ष कुनै न कुनै कार्यक्रमका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो ।

भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकका लागि लुम्बिनी आएका संयोजक वैद्यले बुधबार बुटवल र पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य नुवाकोटगढीको अवलोकनपछि संक्षिप्त कुरा गर्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिए पनि स्थिति समान्य हुनासाथ निरन्तरता दिइने बताउनुभयो । उहाँले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको पहिचान र पर्यटकीय पूर्वाधारमा समेत ध्यानाकर्षण गराउनुपर्नेमा आफूहरूको जोड रहेको जानकारी दिनुभयो ।

नुवाकोटगढीको अवलोकनका क्रममा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले त्यहाँको ऐतिहासिक महत्व, पुरातात्विक संरचनाहरुको संरक्षणमा भएका प्रयास र नुवाकोटगढीको विकास योजनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भ्रमण वर्षको अवधिमा उक्त स्थानमा नेपालको वीरता झल्कने नेपालीले अङ्ग्रेज फौजसँग लड्न प्रयोग भएका हतियार खुकुरीको प्रतीक स्थापना गर्ने योजना प्रस्तुत समेत गर्नुभयो ।