जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार १०:४६

यसरी हुदैछ तिनकुने–एयरपोर्ट–तिलगंगा सडक विस्तार


काठमाडौं, फागुन २६

सडक विभागले चक्रथप सडक अन्तर्गतको तीनकुने–एअरपोर्ट–तिलगंगा खण्डको सडक विस्तार प्रक्रिया अघि बढाउने भएको छ। तीनकुने–एअरपोर्ट–तिलगंगा २.४ किलोमिटर सडकखण्ड विस्तार गर्न सडक डिभिजन काठमाडौंले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको छ।

दुईलेनको तीनकुने–एअरपोर्ट–तिलगंगा खण्ड आठ लेनमा विस्तार गर्न डिभिजन कार्यालयले डीपीआर तयार गरेको हो। डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले सडक विस्तार गर्न करिब दुई अर्ब रुपैयाँ लाग्ने जानकारी दिए। चक्रपथलाई आठ लेनमा विस्तार गर्ने योजना अनुरुप नेपाल सरकारको लगानीमा तीनकुने–एअरपोर्ट–तिलगंगा खण्ड विस्तार गर्न लागिएको नेपालीले जानकारी दिए।

२७ किलोमिटर लामो चक्रपथको एउटा खण्ड नेपाल आफैले बनाउने रणनीतिअनुसार तीनकुने–एअरपोर्र्ट–तिलगंगा खण्डको डीपीआर तयार पारिएको हो। सन् १९७७ मा चीनकै सहयोगमा चक्रपथ निर्माण गरिएको थियो।

चक्रपथकै कलंकी–कोटेश्वर खण्ड चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार भइसकेको छ। साढे १० किलोमिटर कलंकी–कोटेश्वर सडक आठ लेनमा विस्तार गरिसकिएको छ। चीनको सांघाइ कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो। २०७३ मागसम्म विस्तार सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो। सडकको सीमा क्षेत्र खाली नगरी ठेक्का लगाइएको यो सडक निर्माण गर्न पाँच वर्ष लागेको थियो।

यस्तै दोस्रो चरणमा कलंकी–धोवीखोला (चाबहिल) खण्ड पनि चीनले विस्तार गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ। तर, यो खण्डमा कलंकी–कोटेश्वर सडक विस्तारका क्रममा भएको ढिला सुस्ती चीन दोहो¥याउन चाहँदैन। साइट क्लियर नभएसम्म डीपीआर नगर्ने चीनको अडान छ। कलंकी–धोविखोला सडक खण्डको चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। तर डीपीआर निर्माण गर्न सीमा क्षेत्र खाली हुनुपर्ने चीनको अडान छ।

सडक विभागले सडक विस्तार गर्न आवश्यक साइड क्लियर प्रक्रिया अघि बढाइसकेको छ। महारागन्ज खण्डमा पर्ने घर जग्गाको मुआब्जा विवरणप गर्न सरकारले स्वीकृति प्रदान गरिसकेको छ। काठमाडौं उपत्यका विकास प्राधिकारणसँगको सहकार्यमा सडक विभागले मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ।

एअरपोर्र्ट र स्थानीयको सहयोग आवश्यक

तीनकुने–एअरपोर्ट–तिलगंगा सडक खण्ड २.४ किलोमिटर छ। सडकलाई आठ लेनमा विस्तार गर्ने गरी विभागले डीपीआर तयार पारेपनि यो खण्डको राइटअफवे ३० मिटरमात्र छ। लक्ष्यअनुरुप सडक चौडा गर्न थप ३२ मिटर जग्गा आवश्यक पर्छ। सडकको एकतर्फ अन्तर्राष्ट्रिय विमानस्थल र अर्को थप व्यक्तिको घरजग्गा छ। सडक विस्तार गर्न सडक विभागलाई स्थानीय र एअरपोर्टको जग्गा उपयोग गर्नुपर्ने हुन्छ। अहिलेको प्रचलित दरमा मुआब्जा वितरण गर्दा पनि कम्तीमा पनि आठ अर्ब रुपैयाँ लाग्ने सडक विभागका अधिकारी बताउँछन्। यस्तै एअरपोर्टसँग पनि जग्गा उपलब्ध गराउने विषयमा विस्तृत छलफल हुन सकेको छैन। एअरपोर्र्टको जग्गा उपयोग गर्न उच्चस्तरीय तबरबाट सहजीकरण गरिनुपर्ने विभागका अधिकारी बताउँछन्। यस्तै गल्फ कोर्स पशुपति गुठीको नाममा छ।

सहरी सडक

तीनकुने–एअरपोर्ट–तिलगंगा सडकखण्ड सहरी सडकको अवधारणा अनुरुप डिजाइन गरिएको प्रमुख नेपालीले बताए। सडक आठ लेनको हुनेछ। चार(चार लेनको बिचमा मेडियन हुनेछ। एउटा लेन ३.५ मिटरको हुनेछ। तीनदेखि साढे तीन मिटरको मेडियनमा कोटेश्वर–सूर्यविनायक र तीनकुने–माइतीघर खण्डको जस्तै बोट विरुवा लगाइनेछ। सडकको दायाँबायाँ एक÷एक सर्भिस लेन हुनेछ।

सर्भिस लेन र मुख्य लेनकाबीचमा विद्युत्का तार, टेलिफोन, इन्टरनेट र केबल, ढल तथा खानेपानीलगायत युटिलिटिजका तार र पाइप अन्डर ग्राउन्ड गर्ने ठाउँ छोडिनेछ। (अन्नपूर्ण)