जनता टाइम्स

२७ फाल्गुन २०७६, मंगलवार १२:१२

ठेकेदार मनोज भेटवालले गरे आत्मसमर्पण


काठमाडौं, फागुन २७ । जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले आत्मसमर्पण गरेका छन । महानगरीय प्रहरी परिसर टेकुमा आज बिहान भेटवालले आत्मसमर्पण गरेका हुन ।

भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए । प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए । भारतबाट नेपाल फर्कैलगत्तै आज आत्मसमर्पण गरेका हुन । प्रहरीका अनुसार भेटवालमाथि अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको चन्द्र सिंह धामीले उजुरी गरेका छन । भेटवालबिरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबि) मा समेत ठगिको जाहेरी परेको छ । प्रहरीले बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर आजै अदालतमा म्याद थप्ने तयारी गरेको छ ।

राजस्व अनुसन्धान विभागले गत साउनमा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालसहित चारजनाविरुद्ध अबैध हुण्डी कारोबारको अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । भेटवालसहित चारजनाले चार करोड ६० लाख ४२ हजार आठ सय ५० रुपैयाँ अवैध कारोबार गरेको अभियोगसहित मुद्दा दर्ता भएको हो । भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङलाई प्रतिबादी कायम गर्दै मुद्दा दायर गरिएको थियो ।