जनता टाइम्स

२७ फाल्गुन २०७६, मंगलवार १४:०७

चीनका राष्ट्रपति सीले गरे वुहानवासी र अग्रमोर्चामा काम गर्ने अधिकारीसँग भेट


वुहान, फागुन २७

चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीनमा कोरोना भाइरसको सङ्क्रमणको माहामारी फैलिएको सहर वुहानका वासिन्दा र सङ्क्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनद्वारा कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमणका कारण चीनमा मङ्गलबारसम्ममा तीन हजार १३६ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको राजधानी वुहान कोभिड–१९ को सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित स्थान हो । राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, हौसेनसान अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका शिलशिलामा क्वारेन्टिनमा बसेका स्थानीयसँग पनि भेटगरी जानकारी लिनुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिनुभएको थियो । उहाँले स्थानीय र अग्रपङ्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गर्नुभयो ।