जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार १०:२३

कोरोनाबारे साझा धारणा बनाउन सर्वदलिय बैठक आव्हान


काठमाडौं, फागुन २८

सरकारले कोरोना भाइरसका विरुद्ध लड्ने विषयमा साझा धारणा बनाउन सर्वदलिय बैठक आव्हान गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज अपरान्हका लागि सर्वदलीय बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजेका लागि बैठक तय गरिएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ ।

निजी क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढेको सरकारले राजनीतिक तहमा पनि सहकार्यका लागि छलफल गर्न लागेको हो । ‘सबै राजनीतिक दलसँग छलफल गरी सहकार्य रहेको सन्देश दिन छलफलको तयारी गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो । छलफलमा सबै पक्षको सुझाव लिएर आवश्यक पूर्वतयारी गरिने बताइएको छ ।