जनता टाइम्स

२९ फाल्गुन २०७६, बिहीबार १५:३७

जङ्गली जनावर व्यवस्थापन गर्न सांसदको माग


काठमाडौं, फागुन २९

चितुवा, हात्तीलगायत जङ्गली जनावरले देशका विभिन्न भागमा बालबालिका मार्ने, नागरिकलाई दुःख दिनेलगायत गरेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद प्रकाश पन्थले कोरोना भाइरसको सन्त्रास फैलिरहेका बेला सरकारले तयारी नगरेकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेकाले समयमै सतर्क हुनुपर्ने उहाँको भनाइ थियो । तनहुँमा चितुवा आक्रमणले दुई वर्षभित्र नौ बालबालिकाको निधन भएकाले समस्या समाधान गर्न उहाँले माग गर्नुभयो ।

भानु नगरपालिकाका बालबालिकाको निधन भएको हो । शुक्लागण्डकी नगरपालिकालगायत स्थानीय तहका बालबालिकालाई चितुवाले आक्रमण गर्ने गरेका छन् । बुधबार बेलुकी पनि एक बालकलाई ३० मिटरसम्म चितुवाले घिसार्दा आमाले बचाएको सांसद पन्थले जानकारी गराउनुभयो । सांसद देवेन्द्र दाहालले झापाको दमक मालपोत कार्यालयमा कर्मचारी अभाव हुँदा जग्गापासका लागि जनताले दुःख पाइरहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले अनलाइनबाट जग्गापासको प्रणाली ल्याइँदा इन्टरनेटको अभावलगायत कारणले जनताले सास्ती व्यहोरिरहेकाले समस्या समाधान गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

इटहरीबाट पूर्व जाँदा फोहर, यसैगरी काठमाडौँमा पनि चावहिलबाट पूर्व जाँदा विकास निर्माणका काम अलपत्र परिरहेकाले छिटो काम गरिनुपर्नेमा जोड दिनुभयो । सांसद गङ्गा बेल्वासेले आठ मार्चमा मनाइने श्रमिक महिला दिवस औपचारिकतामा मात्र सीमित भएकाले त्यसो हुन नदिन माग गर्नुभयो । सांसद डा बिमला राई पौडेलले बोतल कुहिन ४५० वर्ष लाग्ने, अझ कुनै प्लास्टिकको बोतल कुहिन एक हजार वर्ष लाग्ने, कुनै कुनै बोतल त नकुहिने, यो बाल्दा वातावरणमा क्यान्सर रोग लाग्ने ग्यास उत्पादन हुने भएकाले सिंहदरबारलाई प्लास्टिकको बोतलरहित घोषणा गर्न माग गर्नुभयो ।

प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभामा अध्यक्षले रुलिङ गरेर प्लास्टिकका बोतल निषेध गरी सिसाको गिलास वा अन्य वैकल्पिक व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । संसद् सचिवालयले नै प्लास्टिक बोतलरहित बनाउन पनि पहल गर्नसक्नेतर्फ सांसद राईले ध्यानाकर्षण गराउनुभयो । सांसद भगवती न्यौपानेले विकास र समृद्धि चाहने र नचाहनेबीच विवाद हुने गरेको बताउनुभयो । सांसद शेखरकुमार सिंहले तराई क्षेत्रको सप्तरीदेखि पर्सासम्म हात्ती आतङ्क हुने गरेकाले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।  यो क्षेत्रमा वर्षाका बेला आउनसक्ने बाढी नियन्त्रणका लागि अहिलेदेखि काम शुरु गर्न पनि उहाँले माग गर्नुभयो ।

सांसद हरिराम चौधरीले सरकारले माध्यमिक तहसम्म निःशुल्क घोषणा गरे पनि कार्यान्वयनमा नरहेको बताउनुभयो । उहाँले धेरै सामुदायिक विद्यालयमा अहिले पनि दरबन्दी रिक्त रहेकाले यथाशीघ्र पूर्ति गर्नुपर्नेमा दिनुभयो । सांसद नन्दा चपाइँले सुर्खेतलगायत जिल्लामा बाढी प्रभावित जनता अझै पालमुनि बसिरहेकाले छानामुनि ल्याउन माग गर्नुभयो । सांसद रामनारायण विँडारीले संसद्मा सबै मन्त्रालयका प्रतिनिधि आएर बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो । मन्त्रीलाई सांसदले उठाएका सवालको जवाफ दिने व्यवस्था संसद्ले मिलाउनुपर्ने उहाँको माग थियो ।