जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १४:५४

श्रीमान–श्रीमतीको झगडा छुट्याउन आएकी शिक्षिकाकै हत्या


ओखलढुंगा, चैत १ । मोलुङ्ग गाउँपालिका ५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या भएको रहष्य खुलेको छ । गत मंगलबार बिहान साढे ८ बजे विद्यालय हिँडेकी शिक्षिका कार्कीलाई मृत अवस्थामा फेला पारिएको थियो । कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका ९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रम्तेलकी श्रीमती माइत मोलुङ्ग गाउँपालिका ५ प्राप्चामा बस्दै आएकी थिइन । श्रीमतीलाई लिन गएका रम्तेल र उनकी श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन गएकी शिक्षिका कार्कीको हत्या भएको आरोपितले स्वीकारेका छन । प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमै रविराजले कार्कीको हत्या गरेको बयान दिएका छन । श्रीमान श्रीमतीबीच भएको झगडा छुट्याउन जाँदा शिक्षिकाको रविराजले हत्या गरेको प्रहरीको भनाइ छ । मृतक शिक्षिका सोहि गाउँपालिका ६ श्रीचउरमा रहेको सहिद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

आरोपितलाई हिरासतमा राखेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ‘रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउन जाँदा कार्कीको हत्या भएको देखिन्छ, थप तथ्य आउन बाँकी नै छ,’ जिप्रकाका प्रहरी निरीक्षक मिलन बस्नेतले भन्नुभयो । मृतक कार्कीको टाउकोको पछाडी भाग र चिउँडोमा ढुंगाले हानेको जस्तो चोट देखिएकाले स्थानीयले हत्याको आशंका गरेका थिए ।