जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १६:२६

गाँजाले लागूऔषध दुव्र्यसनी हुनबाट जोगाउँछ : पूर्वमन्त्री तामाङ


काठमाडौं, चैत १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजाले लागू औषध दुब्र्यसनीबाट जोगाउने जिकिर गर्नुभएको छ । गाँजा खेतीलाई वैध बनाउने अभियानमा लाग्नुभएका पूर्वमन्त्री तामाङले यसबाट कसैलाई बेफाइदा नहुने बताउनु हुन्छ ।

‘गाँजा खाएर कोही पनि बिग्रदैन, गाँजाले त लागूऔषध दुव्र्यसनी हुनबाट पो जोगाउँछ,’ आफ्नो अभियानबारे जनताटाइम्ससँग पूर्वमन्त्री तामाङले भन्नुभयो । उहाँले गाँजासँगै अरु लागूऔषधको कुलतमा पर्यो भने दुव्र्यसनी हुने बताउनु भयो । गाँजा खाएर मानिस बिग्रन्छ भन्दै हल्ला गर्ने लागूऔषध बेच्नेहरु भएको उहाँको आरोप छ । ‘गाँजा लागूऔषध होइन, गाँजा त धेरै रोगको औषधि हो,’ तामाङको भनाई छ ।

तामाङले संसदमा गाँजा खेतीसम्वन्धी नियमन र व्यवस्थापन गर्न बनेको गैरसरकारी विधेयक दर्ता गरेपछि निकै चर्चामा हुनुहुन्छ । बागमती प्रदेशमा सांसद केशव स्थापितले पनि गाँजा खेती वैध बनाउनका लागि विधेयक दर्ता गरिसक्नुभएको छ । तामाङ मुलुकको आर्थिक समृद्धिको आधार गाँजा रहेको आफ्नो निश्कर्षसमेत सुनाउनु हुन्छ ।