जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १७:५१

बेहुली लिन आएका जन्ती आधा बाटोबाटै भए फिर्ता


सल्यान, चैत १ । सल्यानमा दुलही लिन आएका जन्तीहरू आधा बाटोबाटै फर्किएका छन । रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर नपुगेका कारण आधा बाटोबाटै फिर्ता भएका हुन ।

दुलही लिन करिब ४५ जना जन्तीसहित बस सल्यान प्रवेश गरेको थियो । ‘प्रहरीलाई दुलाहाको विवाह गर्ने उमेर नपुगेको खबर आयो, प्रहरीले सोधपुछ गर्दा साँच्चै नै बेहुलाको उमेर पुगेको रहेनछ,’ जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मण वलीले भन्नुभयो । बेहुलाको उमेर नपुगेको थाहा पाएपछि प्रहरीले जन्तीलाई बाटोबाटै फिर्ता पठाएको थियो ।

‘बेहुलीको उमेर २० वर्ष पूरा भएर २१ लागेको रहेछ तर बेहुलाको उमेर भने २० वर्ष पुग्न अझै तीन महिना बाँकी रहेको पाइयो,’ इन्स्पेक्टर वलीले भन्नुभया ‘त्यसैले बाटोबाटै जन्ती बोकेको बस फर्काएका हौैं ।’ वलीले उमेर नपुगेको विवाह भएपछि कारबाही गर्नुभन्दा विवाह रोकेर ठुलो दुर्घटनाबाट रोकेको बताउनु भयो ।