जनता टाइम्स

३ चैत्र २०७६, सोमबार ११:२५

सतुंगलबाट ६ लाख बढी थान मास्क बरामद


काठमाडौं, चैत ३

प्रहरीले ६ लाख बढी थान मास्क काठमाडौंको सतुंगलबाट बरामद गरेको छ । कपनमा समातेको १ लाख ६८ हजार थान मास्कसहित पक्राउ परेकाको बयानका आधारमा सतुंगलमा लुकाएर राखिएको ६ लाखभन्दा बढी थान मास्क बरामद गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो ।

कालोबजारी गरेको आरोपमा मास्कसहित कपनबाट सातजनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । यसअघि शनिबार प्रहरीले काठमाडौंको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँको मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले खोजी अभियान जारी राखेको छ ।