जनता टाइम्स

४ चैत्र २०७६, मंगलवार ११:१८

प्रदेश–२ : केन्द्रमा सहमति नाममा विवादपछि दलहरु छलफलमा


जनकपुर, चैत ४

प्रदेश २ को नामका विषयमा दलहरुबीच विवाद देखिएको छ । राजधानीका विषयमा दलहरुबीच सहमति नै भएपनि नाममा विवाद देखिएको हो ।

प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिको सुझावअनुसार मंगलबार गोप्य मतदान हुन लागेको हो । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ । नामबारे फरक–फरक धारणा छ । नेकपाले नाम जानकी प्रदेश राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ । राजपा र समाजवादीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् । सांसद राजेश्वरप्रसाद शाह लगायतले मध्य मधेश राख्नुपर्ने बताएका छन् ।

मंगलबार बिहानै राजपा संसदीय दलको बैठक बसेको थियो । बैठकले मतदानमा सबै सांसदलाई उपस्थित हुन ह्विप जारी गरेको छ । र प्रदेशको राजधानी जनकपुर र नाम मधेस राख्ने पक्षमा मतदान गर्न पनि ह्विप जारी गरिएको छ । उच्चस्तरीय समितिमा राजधानी जनकपुर राख्न दलीय सहमति जुटे पनि नाममा एकमत नहुँदा मतदानको प्रक्रिया अगाडि बढाइएको संसद् सचिवालयका सचिव रञ्जित यादवले बताउनुभयो ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् । दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ । नेकपाको ३२, कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको एक सांसद छन् ।