जनता टाइम्स

५ चैत्र २०७६, बुधबार १२:१८

दक्षिणपूर्वी एसियामा कोरोना थप फैलिन सक्ने डब्लुएचओको कडा चेतावनी


काठमाडौं, चैत ५

चिन हुदै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई अब दक्षिण एसियाली भूमिमा फैलिन खतरा बढेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ ।

कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो । संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बनेका लागि तत्काल कोरोना भाइरसविरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्ने उसको भनाई छ ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा.पूनम खेत्रपाल सिंहले भन्नुभयो, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ । हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिनका लागि अपनाउने सावधानीहरुलाई बढाउनु पर्छ ।’

कोभिड–१९ को संक्रमण केही क्षेत्रमा तीव्र गतिमा बिस्तार भएको देखिएको र अहिले निगरानी गरिएको भए पनि थप बिस्तार हुन नदिनका लागि राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उहाले बताउनु भयो । डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँचजनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल र भुटानमा एक–एकजनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।